नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज २२, २०८३ बागेश्वरी पोस्ट
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन

नेपालगन्ज । बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता बोकेको विविधतामा एकता झल्काउने नेपाली समुदायका नजिकिँदै गरेका महान् चाड बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका पर्वलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।

चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकका गुनासो व्यवस्थापनका लागि विशेष सुरक्षा योजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन उक्त योजना लागू गरिएको हो ।

चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको जनाएको छ ।

चाडपर्वको अवधिमा देशभरको समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्डलाई लक्षित गरी सुरक्षा योजना कार्यान्वयन गरिएको छ ।

सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुन सक्ने दंगा, लुटपाट वा अन्य अप्रिय घटना तथा एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीप्रति विशेष रूपमा सचेत हुँदै नेपाल प्रहरीले सुरक्षा योजना कार्यान्वयन गरेको हो ।

चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, अवैध सट्टेबाजी, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिनेछ ।

अन्तर्राष्ट्रिय खुला सीमा नाकाबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ, लागूऔषध लगायतका वस्तुको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी लगायत सातवटै प्रदेश प्रहरी कार्यालयबाट कुल ५० हजार ४ सय ५८ जना जनशक्ति परिचालन हुनेछन् ।

जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गत ७ हजार ६ सय ६८, कोशी प्रदेश अन्तर्गत ८ हजार १ सय ३३, मधेश प्रदेश अन्तर्गत ७ हजार २ सय ३०, बागमती प्रदेश अन्तर्गत ४ हजार ४ सय ९९, गण्डकी प्रदेश अन्तर्गत ५ हजार १ सय ८८, लुम्बिनी प्रदेश अन्तर्गत ७ हजार ९ सय २१, कर्णाली प्रदेशअन्तर्गत ५ हजार ३ सय १४ र सुदूरपश्चिम प्रदेश अन्तर्गत ४ हजार ५ सय ५ जना जनशक्ति परिचालन हुनेछन् ।

साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन नागरिक–प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राख्दै स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिनेछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले चाडपर्वको समयमा भरपर्दो सुरक्षा व्यवस्थाका लागि परम्परागत शैली भन्दा पनि प्रविधिमा आधारित सुरक्षा निगरानीलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् ।

उनका अनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष मध्यनजर गर्दै यात्रुको सुरक्षा तथा सडक सुरक्षा व्यवस्थापनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

काठमाडौं उपत्यका लगायत देशभरका प्रमुख सहरमा चाडपर्वको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना अनुरूप प्रभावकारी रूपमा प्रहरी परिचालन गरिनेछ ।

चाडपर्वको अवधिमा चुस्त तथा दुरुस्त रूपमा परिचालित हुन नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको प्रवक्ता काफ्लेले बताएका छन् ।

काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका सम्बन्धमा बाहिरिनु अघि नै प्रत्येक चालकको सवारीचालक अनुमतिपत्र जाँच गरिनेछ । त्यसैगरी मादक पदार्थ तथा लागूऔषध सेवन गरेरनगरेको परीक्षण, सिट क्षमता अनुसार यात्रु राखे/नराखेको जाँच, टीसीए (ट्राफिक कम्युनिकेसन एप्लिकेसन) को प्रयोग गरी लामो दूरीका सवारीसाधनमा दुई जना चालक भएरनभएको जाँच तथा प्रत्येक सवारीसाधनको यान्त्रिक परीक्षण गरेको प्रमाणपत्र समेत जाँच गरिनेछ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयबाट १ हजार १ सय ६५ जना जनशक्ति परिचालन गरी देशभरका विभिन्न स्थानमा ४ सय ८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा सहायता कक्ष स्थापना गरी थप ७ सय ५ जना जनशक्ति परिचालन गरिएको छ ।

यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका तथा भेटिएका व्यक्ति र सामानसम्बन्धी समन्वय गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता गर्ने, यात्रुका गुनासा तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने तथा शंकास्पद गतिविधिको सूचना संकलन गरी आवश्यकता अनुसार प्रहरी परिचालन गरिनेछ ।

चाडपर्वको समयमा सुरक्षाका लागि उपलब्ध आधुनिक प्रविधि, जस्तै सीसीटीभी क्यामेरा, शरीरमा लगाउने क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ । साथै प्रहरी सञ्चार प्रणालीमार्फत वास्तविक समयमै सूचना आदानप्रदान गरिनुका साथै सामाजिक सञ्जालको निगरानी गरी प्रवाह हुने डिजिटल सूचनाको विश्लेषणबाट सुरक्षा व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन आवश्यकता अनुसार प्रहरी परिचालन गरिनेछ ।

चाडपर्वको अवसरमा विभिन्न आकर्षक उपहार दिने भन्दै हुन सक्ने नक्कली अनलाइन किनमेल, अनलाइन ठगी, बैंकिङ ठगी तथा ओटीपी, पिन र पासवर्ड मागेर हुन सक्ने विद्युतीय ठगी लगायतका डिजिटल आपराधिक गतिविधि नियन्त्रण गर्न आम नागरिकलाई विशेष सचेत गराइनेछ ।

नेपाल प्रहरीले ओटीपी, पिन, पासवर्ड, बैंकिङसम्बन्धी गोप्य विवरण तथा अन्य संवेदनशील जानकारी कसैलाई पनि नदिन, शंकास्पद लिङ्क, क्यूआर कोड, चिठ्ठा वा अनलाइन चाडपर्वका आकर्षक प्रस्तावमा विश्वास नगर्न आग्रह गरेको छ ।

त्यसैगरी कृत्रिम बौद्धिकता प्रविधिबाट बनाइएको आवाज वा भिडियो तथा आफन्त वा अधिकारीको नाममा आएको असामान्य रकम माग गर्ने सन्देशमा तुरुन्त विश्वास नगरी सचेत रहनसमेत प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा सुरक्षा व्यवस्था मजबुत बनाउन मुख्य बजार तथा किनमेल केन्द्र, बैंक तथा वित्तीय संस्था, बसपार्क तथा सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक स्थल, पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक, सहरका प्रवेश तथा निकास नाका तथा सुनचाँदी र बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष प्राथमिकतामा राखी प्रहरी परिचालन गरिनेछ ।

चाडपर्वको जोखिम तथा स्थानीय सुरक्षा संवेदनशीलताका आधारमा कमान्ड पोस्ट तथा द्रुत प्रतिकार्य टोली परिचालन गरिनेछ । सीमा नाकामा हुने अवैध गतिविधि, तस्करी तथा अवाञ्छित क्रियाकलाप रोक्न पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती र लोकमार्गमा क्रस पेट्रोलिङलाई अझ प्रभावकारी बनाइनेछ ।

साथै लामो समयका लागि घर छोडेर जाँदा झ्यालढोका, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न, घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान तथा भीडभाडमा नगद, गरगहना र महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ ।

मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भीडभाडमा एक्लै नछोड्न, जुवातास, अवैध सट्टेबाजी तथा लागूऔषधबाट टाढा रहन र कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ ।

चाडपर्वलाई सुरक्षित बनाउने जिम्मेवारी नेपाल प्रहरीको मात्र नभई सम्पूर्ण नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायको समेत साझा जिम्मेवारी रहेको प्रहरीले जनाएको छ ।

नागरिकबाट समयमै प्राप्त हुने सूचना अपराध रोकथाम तथा अनुसन्धानका लागि महत्वपूर्ण हुने भएकाले शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आधिकारिक सम्पर्क माध्यममा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रहरीले चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा शान्तिपूर्ण वातावरण कायम गर्न ‘सूचना–प्रविधि–प्रहरी परिचालन–नागरिक सहकार्य’ लाई मुख्य आधार बनाउँदै सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

“ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईंहरूको साथमा छ ।”


प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
ट्रामाडोलसहित जाजरकोटका युवक नेपालगन्जबाट पक्राउ
ट्रामाडोलसहित जाजरकोटका युवक नेपालगन्जबाट पक्राउ
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP